अफगानिस्तानमा अमेरिकी सुरक्षा गार्डको रुपमा कार्यरत एक नेपालीको मृत्यु

उत्तर एट्लान्टिक सन्धी संगठन नेटो सेनामाथि तालिवान विद्रोही समूहले गरेको आक्रमणमा गएराती अमेरिकी सुरक्षा गार्डको रुपमा कार्यरत एक नेपालीसहित दश जना नेटो सैनिकको मृत्यु भएको छ।


मृतक नेपालीको पहिचान भने खुल्न सकेको छैन। तालिवानी विद्रोहीले विभिन्न स्थानहरुमा गरेको आक्रमणमा पाँच अमेरिकी सहित अन्य नेटो सैनिकहरु मारिएको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ।


पूर्वी अफगानिस्तानमा भएको विष्फोटमा परी पाँच जना अमेरिकी सैनिक मारिएका हुन्। यसैगरी दक्षिणी र पूर्वी क्षेत्रमा अन्य पाँच नेटो सैनिक मारिएको बताइएको छ।


वेलायती रक्षा मन्त्रालयले सोमबारको आक्रमणमा कोही पनि वेलायती सैनिक नमारिएको जनाएको छ। अमेरिकी राष्ट्रपति बाराक ओबामाले घोषण गर्नुभए बमोजिम अतिरिक्त पैतिस हजार अमेरिकी सैनिक अफगानिस्तानमा पुगेपछि सो आक्रमण भएको हो।