बेलायतमा भारतीय मूलका ऋषी सुनक नयाँ प्रधानमन्त्री बन्ने निश्चित

एजेन्सी । बेलायतका पूर्व प्रधानमन्त्री बोरिस जोन्सन पुनः प्रधानमन्त्री बन्ने दौडबाट बाहिरिएपछि ऋषि सुनक नयाँ प्रधानमन्त्री बन्ने सम्भावना प्रबल भएको छ ।
प्रधानमन्त्री लिज ट्रसले राजिनामा दिएपछि बेलायतमा नयाँ प्रधानमन्त्रीको खोजी सुरु भएको छ । पूर्व प्रधानमन्त्री जोन्सनले फेरी प्रधानमन्त्री हुने इच्छा देखाउँदा राजनीतिक सरगर्मी बढेको थियो । तर आइतबार राति ऋषि सुनकसँगको छलफलपछि जोन्सनले प्रधानमन्त्रीको लागि दाबेदारी दिन अहिले उचित समय नभएको भन्दै आफू प्रधानमन्त्री बन्ने होडबाट बाहिरिएको घोषणा गर्नुभयो ।
जोन्सन दौडबाट बाहिरिएसंगै सुनकलाई सहज भएको विश्लेषण गरिएको छ । बेलायती मूख्य सञ्चार माध्यमहरुले ऋषि सुनक आजै प्रधानमन्त्री बन्ने दाबी गरेका छन् । एक वर्षमै तेस्रो पटक प्रधानमन्त्रीको खोजी सुरु भएपछि सत्तारुढ कन्जर्भेटिभ पार्टीले नेता चयन गर्ने प्रक्रिया छोट्याएको छ ।
उम्मेदवारी मनोनयनका लागि सय जना सांसदको समर्थन चाहिने भएपछि तीन जनाले मात्रै प्रधानमन्त्रीको दावेदारी दिन पाउनेछन् । अहिलेसम्म सुनकले मात्रै उम्मेदवारी मनोनयनका लागि आवश्यक सय जना सांसदको समर्थन प्राप्त गर्नुभएको छ ।
उम्मेदवारी मनोनयनका लागि बेलायती समय अनुसार आज दिउँसो २ बजेसम्मको समय दिईएको छ । उक्त समयसम्म अर्को कुनैपनि उम्मेदवारले सय जनाको समर्थन जुटाउन नसके ऋषि सुनक प्रधानमन्त्री बन्ने निश्चित छ । त्यस्तो अवस्थामा बेलायतमा पहिलो पटक गोरा जाति भन्दा बाहिरको प्रधानमन्त्री चयन हुनेछन् । सुनक भारतीय मूलका हुनुहुन्छ ।