यसै वर्षको सुरुवातमा गएको भुकम्पबाट क्षतिग्रस्त हेइटीमा हैजाका कारण विगत दुई दिनमा एक सय अड्तीस जनाको मृत्यु भएको छ। हैजाका कारण पन्ध्रसय मानिस प्रभावित भएको राष्ट्रसंघले जनाएको छ। हेइटीको स्वास्थ्य मन्त्रालयले पनि हैजाको पुष्टी गरेको छ।
अन्तर्राष्ट्रिय संचार माध्यमहरुका अनुसार तटीय सहर सेन्ट मार्कको सेन्ट निकोलस अस्पताल बाहिर चौध सय विरामीको उपचार भइहरेको र त्यहाँको अवस्था निकै भयावह रहेको छ। राम्रो उपचारको अभावमा थप्रै मानिसको मृत्यु हुनसक्ने संभावना रहेको बताइएको छ। राजधानी पोर्ट ओ प्रिन्सको उत्तरी क्षेत्रमा हैजा फैलिएको र उपचारका लागि विरामी आउने आउने क्रम जारी रहेको बताइएको छ।
सो क्षेत्रमा अति विपन्नको मानिसको बसोबास रहेको र स्वच्छ पिउने पानीको व्यवस्था नभएको बाइएको छ। भूकम्पबाट विस्थापित झण्डै बाह्र लाख मानिस बसोबास गर्दै आएका शिविरमा हैजा नफैलिओस् भनी प्रयास थालिएको अधिकारीहरुले जनाएका छन। राहतमा सक्रिय संस्थाहरुले हैजा नियन्त्रणका लागि औषधि र स्वच्छ पिउने पानी प्रभावित क्षेत्रमा पठाउन थालेको जनाएका छन्। समयमा नै उपचार नभएमा हैजाले मृत्यु हुनेको संभावना उच्च हुने स्वास्थ्य अधिकारीहरुले बताएका छन्।।