लमजुङ । लमजुङको सिम्पानी ९ स्थायी घर भई हाल बेलायतस्थित विश्वविद्यालयमा अध्यापन गराईरहनु भएका प्राध्यापक डा.सूर्यप्रसाद सुवेदीले अमर उच्च माध्यामिक विद्यालयका लागि ५ लाख रुपैयाँ सहयोग गर्नु भएको छ ।
उच्च मा.वि सञ्चालनार्थ आर्थिक स्रोत जुटाउन अमर महोत्सव भइरहेको सन्र्दभमा उहाले रकम सहयोग गर्नुभएको आयोजकले जनाएको छ । लमजुङको खुदीस्थित विद्यालयमा सुवेदीले पढ्नु भएको हो । त्यहाँ पढ्ने गरिब तथा जेहेन्दार विद्यार्थीको अध्ययनमा सहयोगका लागि सहयोग गरेको सुवेदीले बताउनुभएको छ ।
बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधि गर्ने र बेलायतका महारानीबाट ओविई दर्जा पाउने उहाँ पहिलो नेपाली हुनुहुन्छ । हाल उहाँ बेलायतको प्रतिष्ठित लिड्स विश्वविद्यालयमा अन्तराष्टिय कानुनको प्राध्यापन गरिरहनु भएको छ ।
सुवेदीसँगै बेलायतमा रहनुभएका नारायण भण्डारी र बालकृष्ण गुरुङले पनि एक/एक लाख रुपैयाँ सहयोग गर्नु भएको छ । यसैगरी खुदी गाविसले ६ लाख रुपैयाँ प्रदान गरेको छ । साथै उच्च माविलाई सहयोग गर्ने क्रम जारी छ ।