कपिलवस्तु — विषालु सर्पले डस्दा दुई दाजुभाइसहित ४ जनाको मृत्यु भएको छ । बुद्धभूमि नगरपालिका १, कपासीका दाजुभाइ ९ वर्षीय प्रदीप भुसाल र १२ वर्षीय दिपक भुसालको मृत्यु भएको प्रहरीले जनाएको छ । हजुरआमासँग भुइँमा सुतेका उनीहरुलाई सोमबार राति सर्पले डसेको थियो । बिहान दाजुभाइ अचेत अवस्थामा भेटिएका थिए ।
परिवारले उपचारका लागि गोरुसिंगेस्थित बुद्ध पोलिक्लिनिक लगेका थिए । पोलिक्लिनिकले बुटवल रिफर गरेको थियो । बुटवल लैजाँदा एक जनाको बाटोमै र अर्काको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार हुँदाहुँदै मृत्यु भएको बताइएको छ । दाजुभाइ गोरुसिंगेस्थित पारिजात बोडिङ स्कुलमा अध्ययनरत थिए ।
त्यस्तै, महाराजगन्ज नगरपालिकाकी ३१ वर्षीया अनिता यादवलाई गोमन सर्पले डस्दा उनको मृत्यु भएको छ । बुद्धभूमि नगरपालिका–१० हरदासडिहवाकी १४ वर्षीया ममता चमारको पनि विषालु सर्पले डस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुवै जनालाई गोरुसिंगे सर्पदंश उपचार केन्द्रमा लगे पनि ढिलो भएका कारण मृत्यु भएको हो । उनीहरुलाई सोमबार दिउँसो र साँझ सर्पले डसेको जनाइएको छ ।कान्तिपुरले उल्लेख गरेको छ।