काठमाडौं । बालुवाटारस्थित ललिता निवास सरकारी जग्गा हिनामिना प्रकरणको अभियोगमा पक्राउ परेकाहरुलाई अदालतले धरौटी लिएर तारेखमा छोड्न आदेश दिएको छ ।
आइतबार काठमाडौं जिल्ला अदालतले पक्राउ परेका १८ जनालाई तारेखमा छोड्न आदेश दिएको हो । न्यायाधीश भोलानाथ ढकालको इजलासले केशव तुलाधरबाहेक सबै आरोपितलाई धरौटीमा छाड्ने आदेश दिएको हो । तुलाधरलाई भने सामान्य तारेखमा छाड्न आदेश दिएको हो । अदालतले भाटभटेनी सुपरस्टोरका सञ्चालक मीनबहादुर गुरुङसँग २ करोड ४६ लाख धरौटी माग गरेको छ ।
ललिता निवासको जग्गा हिनामिना प्रकरणमा संलग्न भएको अभियोगमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसमेत चारजना पूर्वमन्त्री, बहालवाला सचिव कृष्णबहादुर राउत, सहसचिव सुशील वैद्य र ६ पूर्वसचिवसहित ३११ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा भदौ १० गते मुद्दा दायर भएको थियो । उनीहरुबिरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सरकारी कागजात किर्ते आरोपमा मुद्दा चलाएको थियो ।